१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सफल भयो तुइन हटाउने महाअभियान

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार १२:४७


काठमाडौं । गाउँमा झोलुंगे पुल चाहिएको छ ? चाहिएको छ भने एउटा तरिका अपनाउनुस् । गाउँलेहरु मिलेर रातारात नदीमा तुइन हालिदिनुस् । फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नुस् । त्यसपछि सरकार दौडँदै आउँछ । तुइन हटाएर झोलुंगे पुल बनाइदिन्छ ।

गाउँको भाग्यमा छ भने मोटर गुड्ने पुल नै बनाइदिन सक्छ । यो ‘ट्रिक’ लगाएर केही ठाउँका स्थानीयले पुल बनाएका छन् ।

केहीबर्ष अघिसम्म निकै जोखिम मोलेर तुइनबाट नदी वारपार गरेको दृष्य जताततै देख्न सकिन्थ्यो । जोखिमसँग नदी तरेको फोटो तथा भिडियोले नेपाललाई विश्वमै लज्जित बनाइरहेको थियो ।

अन्य मुलुकमा साहसिक खेल बनेको तुइन नेपालमा चाहिँ जनजीवनको अंग बनेको थियो । अब त्यो तुइन इतिहासको कथा बनेको छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा ठूला नदी तथा बर्खे भेल तर्न तुइन प्रयोग गरिन्थ्यो । कैयन ठाउँमा त तुइन बाहेक वारपार गर्ने अरु कुनै उपाय नै थिएन । सिकिस्त विरामीलाई समेत तुइनबाट तारेर अस्पताल पुराउनु पथर््यो । गाउँको दुःख, अभाग र पीडाको प्रतिक थियो– तुइन ।

तुइन हटाउने महाअभियान चलाउनुभएको थियो केपी शर्मा ओलीले । ०७२ साल फागुन ३ गते ओली पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । शितल निवासमा राष्ट्रपतिबाट सपथ खाएर सिंहदरबार छिर्नासाथ ओलीले पहिलो निर्णय गर्नुभयो– तुइन हटाउने ।

त्यसबेला विष्यमकारी मानेका थिए धेरैले त्यो निर्णयलाई । कतिपयले त तुइन हटाउन असम्भव भन्दै प्रधानमन्त्री ओलीको निर्णयको खिल्ली पनि उडाएका थिए ।

लहरादेखि फलामसम्म

नेपालमा तुइनको प्रयोग प्राचीन कालदेखि नै हुने गरेको थियो । मोटामोटा लहरा प्रयोग गरेर नदी पार गर्ने उपाय सदीयौं पहिलेदेखि विश्वभरी अपनाइएको थियो । पछि लहराको ठाउँमा डोरी प्रयोग गर्न थालियो । अर्थात्, डोरीको तुइन । केही दशक पहिलेसम्म नेपालमा जताततै डोरीको तुइन हुन्थे ।

भारतमा फलामका तार र लठ्ठा बन्न थालेपछि डोरीको तुइन विस्थापित भए । भारतबाट फलामका तार र लठ्ठा ल्याउन थाल्यो । डोरीको ठाउँमा फलामे तार टाँगियो । त्यसपछि सुरु भयो फलामे तारको तुइन युग ।

नेपालमा झोलुंगे पुल ब्यापक बन्नु अघि जताततै तुइनको प्रयोग हुन्थ्यो । तुइन उपयोगी छ तर जोखिमपूर्ण र सकसपूर्ण पनि हुन्छ । तुइन चुँडिएर नेपालमा कतिले ज्यान गुमाए भन्ने कुनै हिसाब छैन ।

त्यो असफल पहिलो प्रयास

फलामे तार र लठ्ठाको तुइनलाई विस्थापित गर्यो झोलुंगे पुलले ।

त्यसबेला नेपालमा एकातिर तुइन चल्दै थियो भने अर्कातिर झोलुंगे पुल ठूलो संख्यामा बनाइँदै थियो । झोलुंगे पुल निर्माणमा नेपाल विश्वमै अग्रणी बन्दै गइरहेको थियो । नेपालले जताततै झोलुंगे पुल हाल्ने क्षमता, साधन, स्रोत, प्रविधि र विज्ञता विकास गरिसकेको थियो । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले तुइनको औचित्य देख्नुभएन ।

त्यसपछि ओली सरकारले यातायात मन्त्रालय अन्र्तगतको सस्पेन्सन वृज डिभिजनमा एउटा कार्यक्रम चलायो । कार्यक्रमको नाम थियो– तुइन विस्थापनका लागि झोलुंगेपुल निर्माण कार्यक्रम । तर, ११ महिनामै ओली सरकार ढल्यो । तुइन मुक्त नेपालको परिकल्पना ओली सरकारको अवसानसँगै सपनामै सीमित भयो ।

दोस्रो प्रयास, सफल प्रयास

ओली सरकार ढलेसँगै तुइन हटाउने पहिलो प्रयास असफल नै भयो । त्यसपछि बनेका दुईटा सरकारले तुइन हटाउन सिन्का पनि भाँचेनन् ।

तीन वर्ष अघि केपी ओली फेरि प्रधानमन्त्री बन्नुभयो । त्यसपछि तुइन हटाउने अभियानको भाग दुई सुरु भयो । स्थानीय पूर्वाधार विभागलाई ओलीले फेरि सक्रिय बनाउनुभयो । तुइन भएका ठाउँमा झोलुंगे पुल या मोटर गुड्ने पुल बनाउने कार्यक्रमलाई पुनर्जिवित गरियो ।

केपी ओलीले तुइन हटाउने निर्णय गर्नुहुँदा नेपालमा सयवटा भन्दा धेरै तुइन पहिचान गरेको थियो स्थानीय पूर्वाधार विभागले ।

रातारात थपिए तुइन

तर, तुइन विस्थापित गर्ने क्रममा अनौठो समस्या आइलाग्यो । झोलुंगे पुल हालेर जति तुइन हटाए पनि तुइनको संख्या घटेन । रातारात तुइनको संख्या बढ्न थाल्यो । नयाँनयाँ ठाउँमा तुइन भएको पत्ता लाग्न थाल्यो । सय वटा जति तुइन हटाउने गरी कार्यक्रम थालिएको थियो । तर, कार्यक्रम अगाडि बढाउन थालेपछि एकसय ४३ वटा तुइन पहिचान भयो ।

तुइनको संख्या धमाधम बढ्न थालेपछि विभागका अधिकारीहरुलाई शंका लाग्यो । उनीहरुले खोजिनीति गर्दा रोचक कारण फेला पर्‍यो । तुइन भएको ठाउँमा सरकारले पुल बनाइदिन्छ भन्ने बुझेपछि स्थानीयले रातारात तुइन बनाउन थालेका रहेछन् । तुइन बनाएपछि त्यो ठाउँमा सरकारले पुल बनाइदिन्छ भन्ने स्थानीयको विश्वासका कारण कार्यक्रम नै संकटमा पर्यो । किनभने कार्यक्रमका लागि सीमित बजेट र साधनस्रोत थियो ।

तर, रातारात बनाइएका ठाउँबाट पनि तुइन हटाएर पुल बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । जसरी पनि तुइन हट्नुपर्छ भन्ने ओलीको प्रतिवद्धता थियो । त्यसपछि कार्यक्रमको बजेट र साधनस्रोत बढाइयो र तुइन विस्थापन अभियानलाई तिब्र गतिमा अगाडि बढाइयो ।

फोटो भिडियोले फैलाएको भ्रम

प्रधानमन्त्री कार्यालयका एक अधिकारी भन्छन्– सामाजिक सञ्जालमा तुइनका फोटो भिडियो पाउनासाथ हामीले विभागलाई पठाइदिने गरेका थियौं । तर, विभागले ती ठाउँमा पहिले नै पुल बनिसकेको छ भनेर जवाफ पठाउँथ्यो । अर्थात्, नेपाल तुइन युगमै छ भनेर सामाजिक सञ्जालमा फोटो भिडियो अझै पनि पोष्ट हुने गरेको छ ।

सरकारले वाचा पूरा गरेन भनेर भ्रम फैलाउने जमात एकातिर सक्रिय थियो भने अर्कातिर आम जनतामा सरकारप्रति ठूलो विश्वास पनि थियो । त्यही भएकाले स्थानीयले रातारात तुइन बनाएका थिए । गत वर्ष स्थानीयले रातारात बनाएका आठवटा तुइन पहिचान भएको थियो । सरकारले ती सबै तुइन हटाएर पुल बनाइदिएको थियो ।

पुल बनाइमाग्नैका लागि रातारात तुइन बनाउने प्रवृत्ति अरु बढ्ने चिन्ता विभागका अधिकारीहरुलाई छ । उनीहरुको भनाई छ– अब पुल बनाइमाग्नकै लागि तुइन हाल्नेलाई कारवाही गर्छौं ।
विभागका अधिकारीहरुका अनुसार रातारात तुइन बनाउने काममा वडा अध्यक्ष तथा सदस्यहरु नै संलग्न भएको पाइएको छ ।

अब सकियो

विभागका अनुसार एक सय ४३ मध्ये एक सय २८ वटा तुइन हटिसकेको छ । अर्थात्, ती ठाउँमा पुल बनिसकेको छ । बाँकी १४ वटा तुईन हटाउन धमाधम झोलुङगे पुल बनाइँदै छ ।

विभागका अधिकारीहरु भन्छन्– ‘अहिलेसम्म कतिवटा तुइन हट्यो भन्दै प्रधानमन्त्रीले निरन्तर सोधिरहनुहुन्थ्यो । बाँकी १४ वटा कहिले हटाउनुहुन्छ भन्दै प्रधानमन्त्रीले बारम्बार ताकेता गर्नुभएको थियो ।’

विभागका उपमहानिर्देक अशोक कुमार शाहका अनुसार अहिले पनि तुइन हटाउने काम भइरहेको छ । उहाँको भनाई छ– ‘तुइन हटाएर पुल बनाउँदा तीन लाख ३७ हजारभन्दा धेरै स्थानीयले सुविधा पाएका छन् । पुल बनाउने क्रममा तीन लाख ४७ हजारले रोजगार पाएका छन ।’

 

तैपनि अझै कहिँ कतै तुइन बाँकी छ कि ? यो प्रश्नमा शाह भन्नुहुन्छ– ‘लगत संकलनमा छुटपुट भएका तुइन भेटियो भने त्यहाँ तत्काल पुल बनाउने काम गर्छौं ।’

हट्यो अब नेपालबाट तुइन । तुइन हटाउने यो महाअभियानमा सरकारलाई सबैभन्दा सकस पर्‍यो महाकाली नदीका आठवटा तुइन हटाउन ।

महाकालीमा तुइन नदी वारी नेपालमा पर्छ, पारी भारतमा पर्छ । तुइन हटाउन त सजिलै सकिन्थ्यो तर हटाएको ठाउँमा पुल हाल्न भने भारतको सहमति चाहिने । पुल बनाउने सहमति दिन भारतले महिर्नौं लगायो ।

महाकालीमा तीनवटा तुइन हटाएर पुल बनाइसकिएको छ । चारवटा तुइन हटाउन धमाधम झोलुंगे पुल बनिरहेको छ ।

अब बाँकी छ एउटा तुइन । त्यो चाहिँ कहिले विस्थापित हुने भनेर नेपाल सरकारलाई नभएर भारत सरकारलाई सोध्नुपर्ने भएको छ ।

भिडियाे हेर्न तलकाे लिङ्क क्लिक गर्नुहाेला :-

https://www.youtube.com/watch?v=67DUJYcFrIA

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !