१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काभ्रेपलाञ्चोकमा एकल महिला र सुत्केरीलाई दिइयाे राहत सामग्री

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार ०७:२९


काभ्रेपलाञ्चोक । दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई राहत सामग्री वितरण गरिएकाे छ । समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्यांकेट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको हाे ।

सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न चार सय एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्यांकेट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।

उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताउनुभयो । उहाँका अनुसार परियोजनाले दुवै स्थानीय तहका सबै वडा समेटिएको छ । परियोजनाअन्तर्गत संकटासन्न चार सय  परिवारका दुई हजार लाभान्वित भएको रिमरेकका सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार राहत सामग्री दुवै स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरमै वितरण गर्नुभएको थियो ।

‘हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण गर्‍यौँ, दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ’, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भन्नुभयो । यसअघि गत माघमा सिबिएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक एक थान ज्याकेट र ब्ल्यांकेट वितरण गरेको थियो ।

रिमरेकको कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत भुम्लु गाउँपालिकाको १० वटा वडाका एक सय र मण्डनदेउपुरका एक सय २० अपांगता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्यांकेट वितरण गरेको थियो ।

मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले रिमरेकको सहयोगले अपांगता भएका व्यक्ति, एकल महिला र सुत्केरीलाई राहत पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरले पनि अपांगता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाएको छ ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !