२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड लहरका कारण उपत्यकाका सबै जात्रापर्व राेक्ने तयारी

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार ०३:३०


काठमाडाै‌ ।  काेभिड–१९ महामारीकाे तेस्राे लहर आउने खतरा देखिएपछि मुलुक असहज परिस्थितमा प्रवेश गरेकाे छ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढेमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताइसक्नुभएकाे छ ।

‘लकडाउन गर्नु सरकारको उद्देश्य होइन, तर सङ्क्रमण बढेमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ’, उहाँकाे भनाई छ ।

काठमाडाै‌ उपत्यका उच्च जाेखिममा रहेकाे भन्दै सरकारले उपत्यकामा हुने सबै खालका जात्रा पर्व राेक्न छलफल थालेकाे छ ।

भक्तपुरमा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गर्नुभएको हो ।

भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उहाँले बताउनुभयो । प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको तर धेरै भिडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारेमा भने वैकल्पिक उपाय खोजिने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको जोखिम ह्वात्तै बढेको छ, त्यसैले धेरै भिडभाड हुने जात्रा पर्वलाई औपचारिकतामा जतिसक्दो कम मान्छेको उपस्थितिमा कसरी गर्न सकिन्छ भन्नेबारेमा स्थानीय तहसँग पनि छलफल गर्छौं, साथै भोलि नै गृह मन्त्रालयलाई के कसरी जात्रा पर्व गर्ने भन्नेबारेमा सोधेर पत्राचार गर्छाैं ।’

मध्यपुरथिमि बालकुमारीमा वैशाख २ गते मनाइने खट तथा सिन्दुर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा गर्ने तयारी भइरहेकाे छ । प्रजिअ भट्टराईले भन्नुभयो, “कोरोना भाइरसका कारण मान्छे नै रहने हो कि नरहने भन्ने अवस्था छ, यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भन्ने भएकाले जात्रालाई विकल्प खोज्नुपर्छ ।”

काठमाडाैं र ललितपुरमा पनि जात्रा पर्व राेक्ने तयारी भइरहेकाे गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !