१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बर्दिवासमा मोेटरसाइकल चोरीको बिगबिगी

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ०५:५१


महोत्तरी । महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।

पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नम्बरको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको हो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।

‘मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो’, मोटरसाइकल धनी खत्रीले भन्नुभयो । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले फागुनदेखि प्रयोग गर्दै आउनुभएको बर्दिवास नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल बर्दिवास–३ गौरीडाँडाबाट चोरी भएको छ । त्यसैगरी बर्दिवास–९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चोरी भएको छ ।

यसबाहेक बर्दिवास–१४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास–३ कै रुद्र बोहराको मोटरसाइकल चोरी भएको छ । चैत लागिकन बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चोरीका घटना भएका बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बर्दिवासले मोटरसाइकल चोरीका घटना बढेको स्वीकार गरेको छ । ‘यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ ।’

कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, ‘प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ ।’ प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।

प्रहरीकै सक्रियतामा बर्दिवास–३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ । मोटरसाइकल चोरेर भागेका चोरले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भागेको प्रहरीले जनाएको हो । बोहराले आफ्नो मोटरसाइकल पाइसकेका छन् ।

अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ ।

प्रहरीले खोजीकार्य जारी राखेपछि गिरोह पत्ता लाग्ने बर्दिवासवासीको विश्वास छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !