१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यादेश संवैधानिक बाटाे हाे-प्रम ओली

प्रकाशित मिति :  २४ फाल्गुन २०७७, सोमबार १०:४७


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिने कुरामा अध्यादेश ल्याउन पाइने बताउनु भएकाे छ ।

१ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडाैंमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयाे – ‘एसिड छ्याप्नेविरूद्ध अध्यादेश ल्याउन नपाइने ?, चाहिने कुरामा अध्यादेश ल्याउन पाइन्छ, अध्यादेश संवैधानिक बाटाे हाे, त्यही भएर त संविधानमा व्यवस्था गरिएकाे हाे ।’

एसिड पीडितहरूलाई न्याय दिनका लागि ल्याइएकाे अध्यादेश पास हुन नदिन पुर्नस्थापित प्रतिनिधि सभाकाे पहिलाे बैठक अवराेध गरिएकाेमा असन्तुष्टि जनाउनुभयाे । उहाँले भन्नुभयाे – ‘मुद्दा मामिला गरेर प्रतिनिधि सभा पुनर्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्न रैछ, अध्यादेश पास हुन नदिन, एसिड आक्रमणसम्बन्धी अध्यादेश टेबल गर्न नदिन,धामी नाम देखाउन पाे रैछ, कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ नि ।’

पुर्नस्थापित प्रतिनिधि सभामा देश र जनताका समस्याबारे छलफल गर्नुपर्नेमा मुद्दा लडेर जितेकाहरूले नै विराेध गरेका बताउँदै उहाँले भन्नुभयाे – ‘पुर्नस्थापना नभएकाे भए यतिबेला देश चुनावमा जाने थियाे, राम्राे सरकार बन्थ्याे ।’ प्रचण्ड समूह र कांग्रेसले सेटिङ गरेरै प्रतिनिधि सभा बैठक अवरूद्ध पारेका उहाँले बताउनुभयाे । सदनमा पेस भएको अध्यादेश फेल गरेर देखाउन पनि चुनौती दिँदै उहाँले भन्नुभयाे – ‘सक्छौ भने अध्यादेश फेल गरे भइगो नि, फेल गर्ने आँट पनि छैन्, मुद्दा लडेर आइसकेपछि ताजुब देखियाे ।’

प्रतिनिधि पुर्नस्थापनासम्बन्धी सर्वाेच्चकाे निर्णय सरकारले कार्यान्वयन गरेकाे पनि उहाँले बताउनुभयाे । प्रधानमन्त्रीले भन्नुभयाे – ‘अदालतकाे फैसला मान्ने भनेपनि मान्नैपर्छ, मैले त जुन मुद्दा पनि हारेकाे छु,पुर्नस्थापना भयाे मैले फैसलाकाे सम्मान गरेर काम गरेँ, आफ्नाे पक्षमा फैसला आए मान्ने नत्र नमान्ने ?’ प्रतिनिधि सभा बैठकका काम कारबाही सहज रुपमा अगाडि बढाउन पनि उहाँले सांसद्हरुलाई आग्रह गर्नुभयाे ।

सरकारले महिलाहरूका लागि धेरै काम गरेकाे बताउँदै प्रधानमन्त्री ओलीले मुस्कान खातुन लगायत एसिड पीडितलाई बालुवाटार बाेलाएर कुरा सुनेर अध्यादेश ल्याएकाे पनि उहाँले बताउनुभयाे । सामाजिक न्याय र समानताका लागि सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे । विशेष व्यवस्था गरेर समाजलाई समानतामा अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !