५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली नेतृत्वको सरकार कसैले चाहेर हट्दैन-माधव ढुंगेल

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार ०४:४५


काठमाडौं । नेकपा नेता एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले केपी ओली नेतृत्वको वर्तमान सरकार कसैले चाहेर नहट्ने बताउनुभएको छ ।

नेकपाको दोरम्बा गाउँपालिका स्तरीय सभालाई सम्बोधन गर्दै ढुंगेलले केपी ओलीको पक्षमा बहुमत बन्दै गएको बताउनुभयो । ‘बने केपी ओलीको पक्षमा बहुमत बन्छ, नबने कसैको पक्षमा बन्दैन, देश चुनावमा जान्छ’, ढुंगेलले भन्नुभयो ।

केपी ओली कहिल्यै पनि एकता विरोधी नेता नभएको ढुंगेलको भनाइ छ । पार्टी एकताकै लागि कम्युनिष्ट पार्टीको इतिहासमा काहीँ नभएको दुई अध्यक्ष प्रणाली केपी ओलीले स्वीकार गरेको ढुंगेलले बताउनुभयो । स्थानीय चुनावमा जनताबाट बहिस्कृत भएपछि मात्र प्रचण्ड एकतामा आएको उहाँले बताउनुभयो ।

प्रचण्डले कहिले रुक्माङगत कटवाललाई हटाउने त कहिले २५ वटा संघको माग उठाएर देशलाई सिध्याउने भुङ्ग्रोमा पटक पटक हात हाल्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो पटक आफ्नै प्रधानमन्त्री र पार्टी सिध्याउने भुङ्ग्रोमा उहाँले हात हालेको ढुंगेलको भनाइ छ । यी सबै कुरा केपी ओलीकै कारण रोकिएको र देश जोगिएको उहाँको दाबी छ ।

पार्टी कामको जिम्मा दिए पनि प्रचण्ड सधैँ सिंहदरबार र बालुवाटार वरिपरि घुमिरहेको ढुंगेलको आरोप छ । प्रचण्ड सधैँ सत्ता र शक्तिको लागि लालायित भएको कारण अहिलेको अवस्था आएको ढुंगेलको भनाइ छ ।

संविधान रोक्ने भारतीयको खेललाई प्रतिवाद गर्ने एक मात्र नेता केपी ओली भएको उहाँले दाबी गर्नुभयो । पारवहन सन्धी गरेर केपी ओलीले नेपाललाई बारम्बार नाकाबन्दीमा पर्ने संकटबाट मुक्ति दिलाएको उहाँले बताउनुभयो ।

जनताको दुःखसँग सहकार्य गरेकै कारण तत्कालीन एमालेले स्थानीय निर्वाचनमा जनताको अथाह समर्थन पाएको उहाँको भनाइ छ ।

केपी ओली नेतृत्व सरकारले गरेको विकास र राष्ट्रियताको पक्षको अडानका कारण अहिले नेकपा प्रति जनताको समर्थन बढेको उहाँले बताउनुभयो । यसलाई सहन नसकेर प्रचण्ड र माधव नेपाल पार्टी र सरकार सिध्याउने खेलमा लागेको उहाँको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !