१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कवाडी बन्दै कम्प्युटर

प्रकाशित मिति :  १२ फाल्गुन २०७७, बुधबार ०६:२०


महोत्तरी । भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआउदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् । जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका विद्यालयका प्रधानाध्यापक महेश्वर राय भन्नुहुन्छ, ‘ शिक्षक अभावका कारण कम्प्युटर बिग्रिएका हुन् ,। पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी कक्षा स‌‌‍चालन नभएकाे स्वीकार गर्नु हुन्छ । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् । तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन साथै विद्यालयमा कुनैपनि व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चितहुनु परेकाे स्थानीयको भनाइ छ । सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिग्रिन्दै गएका प्रधानाध्यापक श्रीराम यादव बताउनुहुन्छ । यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नै संसदीय विकास कोषबाट १५ थान कम्प्युटर उपलब्ध गराउनुभएको थियो । अन्य निकायबाट थप सहयोग प्राप्त भएका समेत विद्यालयमा अहिले २४ थान कम्प्युटर छन् । तर यहाँ पनि विषय शिक्षकको अभावमा कम्प्युटर थन्केर रहेको प्रधानाध्यापक हरिदेव महतो बताउनुहुन्छ । यीबाहेक जिल्लाका अन्य थुप्रै ठाउँमा कम्प्युटर विषय शिक्षकको अभावमा प्रयोगात्मक अभ्यास हुनसकेको छैन । आवश्यक भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनको चाँजो नै सुनिश्चित नगरी बाँडिएका कम्प्युटर अहिले त्यसै रहेका छन् । “कम्युटरको नाममा राज्यकोषको करोडौँ रकम प्रवाह भएको छ”, जिल्लाको भङ्गाहा–७ मेघरोलका बासिन्दा माध्यमिक विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक चन्द्रनारायणसिंह थारू भन्नुहुन्छ, ‘त्यो त बालुवामा पानी खन्याएकै भयो नि !’ पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै कम्प्युटर बाँड्दा करोडौँ रकमका यी सामग्री अहिले कवाडी बनेका थारूको थप टिप्पणी छ । अब कम्प्युटर वितरण गरिँदा भौतिक पूर्वाधारको सुनिश्चितता गर्ने र यसअघि प्रदान गरिएका कम्प्युटर प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्ने वा प्रबन्ध हुनसक्ने ठाउँमा व्यवस्थापन गर्न राज्यले नै पहलकदमी लिनपर्ने नेपाल सरकारको शिक्षा सेवामा उपसचिव पदबाट सेवानिवृत्त भएका जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !