१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालकाे नयाँ भनाई- हाम्राे लडाईं केपी ओलीसँग हाेइन

प्रकाशित मिति :  २६ माघ २०७७, सोमबार १२:४९


काठमाडौं । प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी अब इतिहास भइसकेको बताउनु भएको छ । सो समूह निकट एकीकृत शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा नेता नेपालले अब पूर्व एमाले र माओवादी नभनी नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

विगतका गल्ती सच्याउँदै अगाडि बढ्न स्वेतपत्र जारी गर्ने तयारीमा आफूहरु रहेको पनि उहाँले बताउनुभयो । देशमा अब केपी ओलीको नयाँ अबतार नचाहिएको बताउँदै उहाँले भन्नुभयो – ‘केपीको नयाँ अवतार चाहिएको छैन, एउटै अवतार अहिले भारी भइसकेको छ, यो बुझेर अगाडि बढ्नुपर्छ ।’

नेकपा र कम्युनिष्ट पार्टीसँग केपी ओलीको कुनै साइनो नभएको पनि नेपालले दाबी गर्नुभयो । ‘उनलाई हामीले साधारण सभा सदस्यबाट पनि हटाइसकिएको छ, अब उनले ओली बा समूह, केपी ओली गुट, केपी ओली प्रगतिशिल पार्टी जे खोलेर बसेपनि हुन्छ’-

केपी ओलीसँग बसेका सबै मानिस नौटंकी भएका पनि उहाँले आरोप लगाउनुभयो । आफूहरुको समूह नै मूल पार्टी भएको दाबी गर्दै नेपालले सूर्य चिन्ह पनि आफूहरुकै हुने बताउनुभयो । केपी ओलीले चुनाव गर्न नसक्ने दाबी गर्दै नेता नेपालले माघ २३ काे जनसभामा २५-३० बढी मानिस नआएकाे दाबी गर्नुभयाे ।

‘अस्ति पञ्चर्‍यालीमा स्याल हुइँय्या देखियो, मानिसहरू नआएपछि उनीहरू निराश भएर बसेका छन्, २५-३० हजार मात्र सहभागी भए, किन ल्याइनस् भन्दै गालीगलौज गरेछन्, तीन लाख मान्छे उतार्न नसकेपछि निराश भएर बसेका छन्’- उहाँकाे भनाइ छ ।

आफूहरुको लडाईं मान, सम्मान र मर्यादाका लागि भएको दाबी गर्दै उहाँले भन्नुभयाे – ‘हाम्राे लडाईं केपी ओलीसँग हाेइन, केपी प्रवृत्तिसँग हाे ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मानहानी गरेको पनि नेता नेपालले बताउनुभयो । ‘केपी ओलीले मानहानी गरे, सँगैसँगै राखेका अध्यक्षको कुर्सी सारियो, कसो हो प्रचण्डले सहेर बस्नुभयो, म भए सहने थिइनँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !