१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गम्भीर बिरामी गण्डकीमाधेरै..

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०७:१६


काठमाडौँ — कोरोनाले जटिल समस्या आएपछि सघन उपचार गराइरहेकामध्ये आधा संक्रमित गण्डकी प्रदेशका रहेका छन् । देशभरको दाँजोमा गण्डकीमा संक्रमण र जटिलता वृद्घि भएको विज्ञहरूको भनाइ छ ।
सोमबारसम्म देशभर १ सय २८ जना आईसीयू र २२ जना भेन्टिलेटरमा गरी १ सय ५० जना सघन उपचारमा छन् । यसमध्ये ६७ जना आईसीयू र ७ जना भेन्टिलेटरमा गरी ७४ जना अर्थात् ४९.३३ प्रतिशत गण्डकीका छन् । सबैभन्दा बढी संक्रमण प्रभावित वाग्मती प्रदेशमा ३० जना आईसीयू र ११ जना भेन्टिलेटरमा गरी ४१ जना सघन उपचारमा छन् । लुम्बिनीमा ३१ जनाले सघन उपचार गराइरहेका छन् । प्रदेश १ मा २ जना आईसीयू र कर्णालीमा १ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् । सुदूरपश्चिम र प्रदेश २ मा कुनै पनि व्यक्ति सघन उपचारमा छैनन् ।
‘गण्डकीमा कोभिडको संक्रमण र जटिलतामा भएको वृद्घिलाई नजिकबाट नियालिरहेका छौं,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशका डा. कृष्णप्रसाद पौडेलले भने, ‘जटिलताको अनुपातमा मृत्युदर बढेको छैन तर हामी यसको कारण खोजिरहेका छौं ।’
‘एस’ जिन हेर्नका लागि गण्डकी प्रदेशबाट पीसीआर परीक्षणका लागि लिइएको केही नमुना ईडीसीडीले राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने तयारी थालेको छ । यसले शंकास्पद नयाँ कोरोना भाइरसबारे जान्न सजिलो हुने डा. पौडेलले बताए । गण्डकीमा एक्कासि वाग्मतीभन्दा बढी संक्रमित सघन उपचारमा हुनु राम्रो संकेत नभएको ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर बताउँछन् । ‘बेलायतमा देखिएको कोभिडको नयाँ भाइरस (यूके स्ट्रेन) बाट नेपालमा ३ जना प्रभावित भइसकेकाले द्रुतगतिमा व्यापक अध्ययन आवश्यक छ,’ उनले भने ।
पीसीआर नमुना परीक्षण गर्दा ‘एस’ जिन फेला नपरेको अवस्थामा भेरिएन्ट हो भनेर शंका गर्न सकिन्छ । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को रिफरेन्स ल्याबबाट नयाँ भाइरस भए/नभएको प्रमाणित गराउनु उपयुक्त हुने प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले बताए । ‘पीसीआर परीक्षण गर्दा भाइरल लोड धेरै भएको अवस्थामा वा एकभन्दा बढी टार्गेट जिन फेला नपरेको अवस्थामा नयाँ भेरिएन्ट शंका गर्न सकिन्छ,’ उनले भने, ‘त्यसको प्रमाणीकरणका लागि नमुना विदेश पठाउनु आवश्यक हुन्छ ।’
डब्लूएचओका अनुसार नयाँ प्रजातिको भाइरसले विश्वव्यापी रूपमा मानव स्वास्थ्यमा प्रभाव परेको छ । यो संक्रमण पहिलेको भाइरसभन्दा तीव्र गतिमा फैलन्छ । संक्रमितहरूमा गम्भीर समस्या देखिनुका साथै बूढापाका र जोखिम समूहमा बढी मृत्यु पनि देखिएको छ ।
कोरोनाको नयाँ भाइरसको लक्षणमा ज्वरो, खोकी, थकाइ, टाउको दुखाइ, पखाला, मांसपेशीमा दुखाइ, छालामा बिमिरा देखिएको छ । यसबाहेक छातीमा तीव्र दुखाइसमेत हुन सक्छ । पहिलेको दाँजोमा यो भाइरस करिब ७० प्रतिशत बढी संक्रामक देखिएको छ ।

प्रकाशित :


0
Shares

प्रतिक्रिया दिनुहोस !