१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषकका समस्या समाधानमा ध्यान दिन्छु – पद्‍मा अर्याल

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०८:४३


काठमाडाैं । कृषि तथा पशुपंक्षीमन्त्री पद्‍मा अर्यालले कृषकका समस्या समाधानमा ध्यान केन्द्रित गर्ने बताउनुभएकाे छ ।
कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आज पदभार ग्रहण गर्दै मन्त्री अर्यालले वर्षौंदेखि किसानले भोग्दै आएको रासायनिक मलको समस्या समाधान गर्न दृढ रहेको बताउनुभयाे ।

‘वर्षौंदेखि किसानले भोग्दै आएको रसायनिक मलको समस्यालाई सदाका लागि हल गर्न दृढ छु, आगामी आर्थिक वर्षदेखि रासायनिक मलको समस्या समाधान गरिनेछ’-उहाँले भन्नुभयाे । त्यसका लागि सातै प्रदेशमा २५-२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने मन्त्री अर्यालले जानकारी दिनुभयाे ।

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गरिने बताउनुभयाे । ‘कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बीमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कामको सुरुआत आगामी फागुनबाट गरिनेछ’-उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई उद्देश्यअनुसार र प्रभावकारी ढंगले परिमार्जन गरी परिणाममुखी कार्यान्वयनमा ल्याइने पनि मन्त्री अर्यालले बताउनुभयाे ।

कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनि उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उहाँले याे समस्या समाधान गर्न पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रहनुभएकी अर्यालकाे जिम्मेवारी हेरफेर भएकाे हाे । भूमि मन्त्री अर्याललाई पुस १० गते बसेकाे मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयकाे जिम्मा दिने निर्णय गरेकाे थियाे । साेही अनुसार मन्त्री अर्यालले आज कृषि मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नु भएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !