१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुख्खा क्षेत्रलाई हरियाली बनाउन हुर्कदै एक लाख विरुवा

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०८:११


काठमाडौं । रामेछापको सुनकोसी र तामाकोसी नदी किनारको क्षेत्र अति सुक्खाग्रस्त छ । नदी किनारको जमिनमा बुटापोथ्रा देख्न समेत मुस्किल पर्दै गएको छ ।
नदी किनारको जमिन सुक्खा बन्दै गएपछि सो क्षेत्रमा हरियाली प्रवर्धनको लागि नयाँ प्रयास थालिएको छ । जिल्लाको सुख्खा क्षेत्रमा हरियाली प्रवर्धनको लागि परियोजना नै सञ्चालनमा ल्याएको छ ।

वातावरण संरक्षण परियोजना नामको परियोजनाले जिल्लाका सुक्खाग्रस्त क्षेत्रमा तीन वर्षभित्र ३ लाख विरुवा लगाउने महत्वकांक्षी योजनाका साथ काम गरिरहेको छ । सोही परियोजना अन्तर्गत आउने वर्षायाममा रोप्नको लागि १ लाखबढी विरुवा हुर्काईँदै छ ।

मन्थली नगरपालिका–१ स्थित सुकाजोर खोलामा विभिन्न जातका विरुवा हुर्किरहेका छन् । मन्थली र रामेछाप नगरपालिकाको सुख्खाग्रस्त क्षेत्रमा वातावरण संरक्षण परियोजनाले कृषि वन नर्सरी मार्फत कृषि, वन र सजावट तर्फका विभिन्न प्रजातिका विरुवा उत्पादन गरिरहेको छ ।

परियोजनाले स्थापना गरेको नर्सरीमा अहिले वनतर्फ चिउरी, चाँप, निम, किम्बुका विरुवा हुर्किरहेका छन् । त्यस्तै सजावट तर्फ अशोक, कपुर लगायतका विरुवा छन् । कृषि तर्फ जुनार, सुन्तला, कागती, कटहर, आँप लगायतका विरुवा पनि नर्सरीमा हुर्कदै छन् ।

परियोजनाले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको वडा नं १,२,३,४,५ र ६ मा वातावरण संरक्षणको काम गरिरहेको छ । त्यस्तै रामेछाप नगरपालिकाको ७, ८ र ९ नंका वडामा दुईवर्षदेखि हरियाली प्रवर्धन लगायत वातावरण संरक्षणका काम गर्दै आएको छ ।

दुई नगरपालिकामा हरियाली प्रवर्धनका लागि परियोजनाले सञ्चालन गरेको कृषि वन नर्सरीबाट यस वर्ष १ लाख २० हजार भन्दाबढी भुगोल सुहाउँदा विरुवा उत्पादन गर्न लागिएको परियोजनाकी वन संयोजक मनमाया मोक्तानले जानकारी दिनुभयो ।

परियोजनाद्वारा सञ्चालित नर्सरीबाट उत्पादिन विरुवा व्यक्ति, कृषि समूह र संस्थाको माग निवेदनका आधारमा वितरण गरिने संयोजक मोक्तानले बताउनुभयो । परियोजनाबाट उत्पादित वन तर्फका विरुवा कृषकले निशुल्क पाउने छन् । कृषि तर्फका विरुवाका लागि भने २५ प्रतिशत रकम तिर्नु पर्ने छ ।



प्रतिक्रिया दिनुहोस !