१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्यार्थीसँग शुल्क लिने विद्यालयलाई कारबाही हुने

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०६:३०


रामेछाप । रामेछापको मन्थली नगरपालिकामा कक्षा ८ सम्मका विद्यार्थीसँग सामुदायिक विद्यालयले कुनै पनि खालको शुल्क लिन नपाउने भएका छन् । कुनै विद्यालयले त्यस्तो शुल्क लिएको पाइएमा कारबाही हुने भएको छ ।

रामेछाप जिल्लामा सञ्चालित केही सामुदायिक विद्यालयले अझै पनि विभिन्न शीर्षकमा विद्यार्थीसँग शुल्क लिने गरेको अभिभावकले गुनासो गरेपछि नगरपालिको शिक्षा शाखा प्रमुख उपसचिव हेमन्त बुढाथोकीले सो कुरा प्रष्ट पार्नुभएको हो ।

शुक्रबार सदरमुकाम मन्थलीमा मानव अधिकार संरक्षण सञ्जाल र अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले संयुक्त रुपमा आयोजना गरेको शिक्षाको अधिकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बुढाथोकीले सो कुराको जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै बुढाथोकीले केही विद्यालयले विगतमा परीक्षा शुल्कको रुपमा विद्यार्थीसँग पैसा उठाएको पाइएपछि यस वर्षबाट परीक्षामा लाग्ने खर्च नगरपालिकाले नै विद्यालयमा पठनाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले प्रतिविद्यार्थी ३ सयका दरले परीक्षा खर्चको रकम हरेक विद्यालयमा नगरपालिकाले पठाउन लागेको बताउनुभयो । ‘अब विद्यार्थीसँग कुनै पनि नाममा पैसा लिन मिल्दैन, यदि कुनै अभिभावकले स्वइच्छाले सहयोग गर्छन् भने अलग कुार हो’, उहाँले भन्नुभयो ।

कार्यक्रमका सहभागिले सरकारले आधारभूत तहको शिक्षा निःशुल्क भनेको भए पनि केही विद्यालयले अहिले पनि विभिन्न नाममा विद्यार्थीबाट पैसा लिएको गुनासो गरेका थिए । छात्रावृत्ति लगायतका शीर्षकमा विद्यालयलाई प्राप्त हुने रकम अन्यत्रै खर्च गर्ने गरिएको, विद्यालयका भवन राम्रा बने पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभिभावक र नागरिक अगुवाको थियो ।

उहाँले मन्थली नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न दीर्घकालीन योजनाका साथ काम गरिरहेको बताउनुभयो । नगरपालिकाले स्थानीय पाठ्क्रमको विकास गरी कार्यान्वयनको चरणमा रहेको, अभिभावक शिक्षालाई जोड दिइएको, नगरभित्रका प्रत्येक वडामा सञ्चालित एउटा माध्यामिक विद्यालयलाई अगुवा विद्यालयका रुपमा विकास गरी नमुना विद्यालय बनाउने काम अघि बढाइएको, हरेक विद्यालयमा छात्राको लागि सेनिटरी प्याड पुर्याएको, खेल सामाग्री लगायतको बस्तुगत सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रको विकासको लागि नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धाता समेत जाहेर गरिएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !